२४ बैशाख २०८१, सोमबार

तेक्वान्दोमा नेपाल पदकविहीन


Tekwando

८ भदौ, काठमाडौँ । एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन भएको छ ।

नेपालले एसियाडमा भाग लिएदेखि हालसम्म एक रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।

तेक्वान्दोको अन्तिम दिन आज दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले पराजित भए ।

अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को अन्तरले हारिन् । योसँगै तेक्वान्दोको खेल आजदेखि समाप्त भएको छ ।

विवेक पराजित 

पेनकेक सिलातमा नेपालका विवेककुमार विकको चुनौती समाप्त भएको छ । विवेक इरानका मोहम्मद राहिमी बलादेजाइसँग ५–० ले पछि परे । पेनकेक सिलातमा नेपालबाट एक मात्र खेलाडीको सहभागिता थियो ।

कबड्डी 

पुरुष कबड्डीमा २० वर्षपछि सहभागी भएको नेपाल आज पाकिस्तानसँग पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हरायो ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो । छ राष्ट्र सहभागी यो समूहबाट इरान विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट दक्षिण कोरिया विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा पुगे ।

पाँच खेलमा नेपालले चारमा पराजय भोग्यो भने एकमा जित हात पा¥यो । नेपाल पाकिस्तानसहित आयोजक इण्डोनेसिया, जापान र इरानसँग पराजित भएको थियो । मलेसियालाई भने नेपालले २९–१७ ले हराएको थियो । इण्डोनेसियासहित चार फरक एसियाडमा सहभागिता जनाएको नेपालले कबड्डीमा मलेसियाविरुद्ध हात पारेको जित अहिलेसम्मकै पहिलो भएको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जनकारी दिनुभयो ।

नेपालले १९९० को बेइजिङ, १९९४ को जापानको हिरोसिमा र १९९८ को बैंकक एसियाडमा सहभागिता जनाएको थियो ।

भारोत्तोलन 

भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५औँ स्थान हासिल गरेका छन् । बीस प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एण्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार बहन गरे ।

स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२आँै सागका रजत विजेता विकासले दोस्रो र तेस्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरे पनि सफल भएनन् । क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार बहन गर्न असफल रहे । दोस्रो लिफ्टमा कमलले पहिलो लिफ्टकै जति वजन उचाल्न सफल भएका थिए । तेस्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन् ।

भारोत्तोलनमा नेपालबाट चार खेलाडी सहभागी छन् । दुई खेलाडी सञ्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे । बाँकी एक खेलाडी तारादेवी पुनले आगामी आइतबार महिला ७५ केजी तौल समूहमा भाग लिने राखेपले जनाएको छ ।

पौडी 

पौडीको पुरुष १०० मिटर फ्रिस्टायलमा नेपालका शिरीष गुरुङले ४०औँ भएका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७.९२ सेकेन्डमा पूरा गरे । उनको नाममा ५७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । उक्त स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य सहभागी ३० मध्ये २६ औँ भइन् । टीसाले निर्धारित दूरी तय गर्न ३९.४६ सेकेन्ड समय खर्चिन् । शुक्रबार शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टायलमा खेल्नेछन् ।

प्याराग्लाइडिङ 

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौँ भएका छन् । नेपालकै सुशील गुरुङ २४औँ भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इण्डोनेसिया पहिलो, थाइल्याण्ड दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४औँ र प्रतिभा भुजेल १५ औँ स्थानमा रहे । दश चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए । जसमा थाइल्याण्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इण्डोनेसियाले कांस्य जिते । शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरू शुरु हुनेछ ।

स्क्वास 

एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये सबैभन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर आाज पराजित भएका छन् । पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे ।

स्पोर्ट क्लाइम्बिङ 

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको छनोट चरणबाट नेपाल बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औँ र २७औँ भए । शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ ।

आर्चरी 
आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तीलक पुन मगर चीनका खेलाडीसँग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसँग ६–० ले पराजित भए । हिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङ्कङकी खेलाडीसँग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !