१४ बैशाख २०८१, शुक्रबार

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो : मुख्यमन्त्री भट्ट


Trilochan Bhatta

१ भदौ, धनगढी । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ ।

मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने÷गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गर्नुभयो । “सकारात्मक सोच राखेर कानून पालना गर्ने भूमिका निर्वाह गर्नु सबै नागरिकको कर्तव्य हो”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले नयाँ कानूनको कार्यान्वयनका लागि यसमा भएका कानूनी व्यवस्थाको प्रचारप्रसार र सचेतना गराउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिं बोहरा, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, प्रदेशसभाका सदस्यलगायतले पनि नयाँ कानूनको कार्यान्वयनमा जोड दिनुभयो । यो ऐन कार्यान्वयनमा आएसँगै विसं १९१० मा निर्माण गरिएको मुलुकी ऐन प्रतिस्थापन भएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !