२४ बैशाख २०८१, सोमबार

नार्कद्वारा बासनादार धानको अध्ययन सुरू


narc_nepal

१० जेठ, ललितपुर । नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ ।

नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।

महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताउनुभयो ।

“पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको छैन,” उहाँले भन्नुभयो । नार्कले अहिलेसम्म मोटो र मसिनो चामल फल्ने धानको बएि सिफारिस गर्दै आएको थियो । उहाँले भन्नुभयो, “यहाँको माटो र हावापानीमा बासनादार धानको उत्पादन कस्तो हुन्छ भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।”

जनकपुरमा रहेको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले भने तराईका लागि यसअघि नै बीउ सिफारिस गरिसकेको छ । हाल भारतबाट आयात गरिएको बासनादार चामलले नै बजार धानेको छ । बासनादार चामलको बीउ किसानलाई सिफारिस गर्न सके आयात कम गर्न सकिन्छ ।

उहाँ भन्नुहुन्छ, “हामीले यसअघि बीउको निरन्तरताका लागि रोप्दै आए पनि किसानलाई सिफारिस नै गर्ने उद्देश्यले अध्ययन गरेका थिएनौँ ।”

महाशाखाले वर्षेनी धेरै जातका धानका बीउ लगाउने गरेको छ । तीमध्ये नेपालको हावापानी सुहाउँदो र किसानले अहिले लगाइरहेका भन्दा बढी उत्पादन दिने बीउ किसानलाई सिफारिस गरिन्छ । पहिले आफ्नो खेतबारीमा अध्ययन गरेपछि नार्कले किसानका खेतमा समेत परीक्षण गरेर मात्रै नयाँ बीउ सिफारिस गर्दै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !