११ जेष्ठ २०८१, शुक्रबार

केवाइसीको त्रासले बजार चौपट, कारोबार रकममा पहिरो


Bearish Market

१ जेठ, काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरुलाई जेठ १ गतेदेखि नयाँ मापदण्ड अनुरुप केवाइसी अपडेट नगर्ने लगानीकर्ताहरुलाई सेयर कारोबारमा संलग्न नगराउन दिएको कडा निर्देशनले बजार चौपट भएको छ ।

कारोबार रकम चौपट भएको दिन नेप्से परिसूचक भने ४.३२ अंकले घटेर १३३३.८५ को विन्दुमा सीमित बन्न पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.१५ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३४ अंकले गिरावट आयो ।

यो दिन उत्पादनमूलक समूहमा २८.१६ अंक तथा व्यापार समूहमा ५.४९ अंकको वृद्धि देखियो । अन्य सबै समूहमा रातो पोतियो ।

बैकिङ समूह ४.२८ अंकले घट्यो भने बिमा समूह १२.७६, माइक्रोफाइनान्स समूह ५.६२, विकास बैंक समूह १०.९६ र बित्त समूह १.३३ अंकले घट्यो । यस्तै, होटल समूहमा ३२.९५ अंक, जलविद्युत समूहमा १३.१४ अंक तथा अन्य समूहमा ०.५३ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा १ सय ४३ कम्पनीका ३ लाख १९ हजार २ सय ६० कित्ता सेयर १४ करोड ९२ लाख ३९ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भयो । कुनै पनि कम्पनीको कारोबार १ करोडको उचाईमा पुगेन ।

सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ८६ लाख बढीको कारोबार गर्यो । प्रिमियर इन्स्योरेन्सले ५४ लाख ७३ हजार, गण्डकी विकास बैंकले ५२ लाख बढीको कारोबार गर्यो । राष्टिय बिमा कम्पनीको ४६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा स्वालम्बन विकास बैंकले ४४ लाख, वोमी माइक्रोफाइनान्सले ४२ लाख, शिखर इन्स्योरेन्सले ४२ लाख, नेपाल लाइफले पनि ४२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३९ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन हिमालय डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतको हाराहारीमा कमाए । उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन जनउत्पादन सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !