१० जेष्ठ २०८१, बिहिबार

नेप्सेमा अनलाइन ट्रेडिङ आगामी आवदेखि


नेप्से

११ वैशाख, काठमाण्डौ । इन्टरनेटमा आधारित पूर्ण स्वचालित सेयर कारोबार प्रणाली अभ्यासमा आउन अझै समय लाग्ने भएको छ । यसअघि जेठ १८ देखि लागू हुने भनिए पनि हस्तान्तरणपश्चात् विविध परीक्षण गर्नुपर्ने भएकाले पूर्वनिर्धारित मितिदेखि अभ्यासमा नआउने निश्चितप्रायः बनेको हो ।

अनलाइन प्रणाली जेठ १८ गते आउने समाचार बजारमा आए पनि त्यसको प्राविधिक पक्ष परीक्षण गरेर मात्र कारोबार अभ्यासमा जानुपर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “जेठ १८ भित्र प्रणाली निर्माणमा संलग्न कम्पनीले नेप्सेलाई हस्तान्तरण गर्ने कुरा भएको हो । तर, परीक्षण नगरी कार्यान्वयनमा भने आउँदैन ।”

प्रणाली नेप्सेले पाए पनि त्यसको परीक्षण गर्न केही समय लाग्ने उनको भनाइ छ । उनले भने, “परीक्षणबाट कुनै प्राविधिक समस्या नदेखिए मात्र कार्यान्वयनमा जान सकिन्छ ।” केही समस्या नदेखिए सकेसम्म चाँडै र देखिए समाधान गरेर नयाँ आर्थिक वर्षको सुरुबाट नै पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आउने उनको दावी छ ।

अनलाइन प्रणाली निर्माण कार्य अझै करिब १८ प्रतिशत बाँकी छ । अनलाइन प्रणाली निर्माणमा संलग्न कम्पनी वाईको इन्टरनेसनलका प्राविधिक विजय गुरलनले प्रणालीको ८२ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको बताए । उनले भने, “प्रणालीका लागि आवश्यक सम्पूर्ण मोडलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको छ । ती मोडलहरुलाई एकीकृत गरी छिट्टै ल्याउने तयारी गरेका छौं,” उनले भने ।

गत शुक्रबार भएको नेप्से, प्रणाली निर्माणमा संलग्न प्राविधिक तथा ब्रोकर कम्पनीबीच भएको छलफलमा कम्पनीले ब्रोकर कम्पनीले प्रयोग गर्ने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, कारोबार गर्ने तरिकाबारे जानकारी दिइएको थियो । कम्पनीका तर्फबाट प्राविधिक टोलीका सदस्य विजय गुरलन, प्रदीप पाम्पडी र दिलिप सिंहले दिएको प्रस्तुतिमा नेप्से तथा ब्रोकरको सम्बन्ध, ब्रोकर तथा ग्राहकको सम्बन्ध, क्लियरिङ बैंक तथा निक्षेप प्रणालीसँगको सम्बन्ध, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयमा पनि दलाल व्यवसायीलाई जानकारी गराइएको थियो ।

छलफलमा सहभागी ब्रोकर कम्पनीले प्रस्तावित कारोबार प्रणालीका बारेमा विभिन्न जिज्ञासा राख्नुका साथै सुधारका लागि सुझाव दिएका थिए । कार्यक्रममा सहभागी एक ब्रोकरले आफूहरु अनलाइन कारोबार प्रणाली सुरु हुने व्यग्र प्रतिक्षामा रहेको बताए ।

छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पूँजी बजार विकासमा अर्को कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । नेप्से र वाइकोबिच १४ महीनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !