खलङ्गा । चन्दननाथ नगरपालिका–१ की बास्मती कुलाल दैनिकजसो जवा नदीबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् । उहाँको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उहाँले पाँच वर्षदेखि बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् ।
“म घरबाट एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु”, उहाँले भन्नुभयो, “परिवारको खर्च जोहो गर्न हाम्रो लागि नदीको बालुवा भरपर्दो आर्थिक स्रोत बनेको छ ।” चन्दननाथ नगरपालिका–१ की धनमाया कुवालको दैनिकी पनि नदीमा बालुवा निकालेर बित्छ । बालुवा सङ्कलन र बिक्री गरेको रकमले उहाँको पनि घरखर्च चल्ने गरेको छ ।
उहाँहरु मात्र होइन, चन्दननाथ नगरपालिकाका झण्डै दुई सय महिला जवा नदीको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । भरपर्दो रोजगारी नभएका र घरको आर्थिक अवस्था कमजोर भएका उहाँहरुलाई खोलाको बालुवाकै भर छ । चन्दननाथ नगरपालिका–१ की धनमाया कुलालले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् । “बजारमा मजदूरी पाइँदैन”, उहाँले भन्नुभयो, “परिवारको खर्च धान्नै मुस्किल छ ।” बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण लिएर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । उहाँले दिनभर सङ्कलन गरेको बालुवाबाट रु ४÷५ सय कमाउँछिन् । “बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । एक दिनमा १५ बोरासम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा रु तीन हजारदेखि चार हजारसम्म कमाई हुने गरेका छ”, उहाँले भन्नुभयो, “एक टिप्पर बालुवा सङ्कलन गर्दा रु ५०० नदी किनारमा भएको जग्गाधनीलाई उपलब्ध गराउने गरिएको छ ।”
उहाँका अनुसार नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन् । नदी किनारमै रुपैयाँ दिन्छन् । बिहानको खाना धेरैजसो नदी किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न सकिने भएकाले यहाँका महिलाको बिहानै नदी किनारामा भीड लाग्ने गरेका छन् । विद्यालय जाने बालबालिकासमेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गरेको उहाँको भनाइ छ ।
विद्यालय बन्द भएकाले बालुवा निकाल्ने काम गरेको स्थानीयवासी उनिता कुलालले बताउनुभयो । “बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको छु”, उहाँले भन्नुभयो, “साउन महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ ।” यहाँका महिलाले जवा नदीमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छन् । नदीमा फ्याँकिएका सिसा, काँडा र ढुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख पनि छैन ।
विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले यहाँको महिलाको रोजगारी जवा नदीले दिएको हो । नदीबाट निकालिएको बालुवा ठेकेदारले खरीद गरी ट्र्याक्टर र टिप्परमार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीयवासी बताउँछन् । जिल्लाको जवा नदी, तिला र हिमा नदीमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।
गुठीचौर गाउँपालिकाको घर–घरमा इन्टरनेट सेवा
जुम्लाको गुठीचौर गाउँपालिकामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।
गुठीचौर गाउँपालिकाको–५ वडा कार्यालयसहित अन्य स्थानीयवासीको घरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । रु १५ लाखको लागत साझेदारीमा उक्त इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ । जुम्ला बजार हुँदै फाइबर लाइन गुठीचौर गाउँपालिका–३ गज्याङकोट गाउँसम्म जडान गरिएको छ । वडा नं ५ का अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार अहिले यो वडामा ६१६ घरधुरी छन् । सबै घरधुरीमा विस्तार हुने गरी इन्टरनेटको फाइबर लाइन विस्तार भएको छ ।
“इच्छुक नागरिकले आवश्यकताका आधारमा आफ्नो घरमा इन्टरनेट लाइन जडान गर्न सक्ने गरी लाइन विस्तार गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले वडापालिकाको सहयोगमा लाइन जडान भए पनि मासिक इन्टरनेट चार्ज भने स्थानीयवासी आफैँले तिर्नुपर्नेछ । सिम्पलको फाइबर टू होम इन्टरनेट सेवा गुठीचौर गाउँपालिका–३, ४ र ५ मा विस्तार भएको वडाध्यक्ष नेपालीको भनाइ छ ।
यस्तै चन्दननाथ नगरपालिका सदरमुकाम खलङ्गामा पनि सिम्पल फाइबर इन्टरनेट सेवाको लाइन विस्तार गरिएको छ । डिभाइसभन्दा पनि फाइबर इन्टरनेट लाइन विस्तार भएपछि इन्टरनेट द्रुतगतिमा चल्ने गरेको स्थानीयवासी बताउँछन् । सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहसँगै साबिक कर्णालीका चार जिल्लामा समेत इन्टरनेट सेवा दिँदै आएको छ ।
अहिले फाइबर टू होम इन्टरनेट सेवा सदरमुकाम केन्द्रित भए पनि आवश्यकताअनुसार गाउँगाउँमा समेत पु¥याइनेछ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा छिटो हुने अध्यक्ष प्रतिभा शाहीको दाबी छ । यद्यपि, नेपाल टेलिकमले क्षमता विस्तारको काम द्रुतगतिमा भइरहेको छ ।