१८ बैशाख २०८१, मंगलबार

ताप्लेजुङमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु


मृत्यु

फुङ्लिङ । ताप्लेजुङमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी १ जना पुरुष र १ जना वृद्धा महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो ।

यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो ।

घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले आफूलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताए । पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए ।

यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए । ताप्लेजुङमा २१ जना सक्रिय सङ्क्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !