२३ बैशाख २०८१, आइतबार

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी, केरलामा मात्रै थप ११४ को मृत्यु


भारत

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९७३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै १० हजारले बढी थियो । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २६० जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

एक दिनमा कूल मृत्यु भएकामध्ये ११४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा २६ हजार २०० नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १९६ जना सङ्क्रमित भएका थिए । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भारतमा तीन लाख ९० हजार ६४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झण्डै तीन हजार बढी थियो । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै आएको हो ।

पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन त्योभन्दा बढी अर्थात ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !