२१ बैशाख २०८१, शुक्रबार

लिबियामा समयमै आमनिर्वाचन सम्पन्न गर्न युरोपको आग्रह


आमनिर्वाचन

त्रिपोली । लिबियालाई समयमै निर्वाचन सम्पन्न गर्न युरोपका तीन देशका विदेशमन्त्रीहरुले आग्रह गर्नुभएको छ । उहाँहरुले संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र गठन भएको नयाँ सरकारलाई समयमै आम निर्वाचन गराउन आग्रह गर्नुभएको हो ।

उहाँहरुले यो सरकारको काम नै आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ भन्दै सोही समयमा चुनाव गर्न आग्रह गर्नुभएको हो । लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसंघको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो ।

यस सरकारले आगामी डिसेम्बर २४ का लागि आम निर्वाचन आह्वान गरेको छ । लिबियाको राजनीतिक अवस्थाले अरु पनि छिमेकी देशहरुको अराजनीतिक अवस्थामा असर गर्ने भन्दै सो निर्वाचन समयमै सम्पन्न गराउनका लागि यो सरकारले पहल गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको हो ।

लिबियाको राजधानी त्रिपोलीमा गत बिहीबार तीन ओटा युरोपेली देशका विदेशमन्त्रीहरु इटालीका विदेशमन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेशमन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका हाइको मास त्रिपोली पुग्नुभएको थियो ।

शुक्रबार उहाँहरुले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नुभएको थियो । लिबियाको आगामी आमनिर्वाचनका विषयमा उहाँहरुले लिबियाका प्रधानमन्त्रीसँग आवश्यक छलफल पनि गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेशमन्त्रीहरुले लिबियाले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै यसका लागि लिबियालाई युरोपले सहयोग गर्न चाहेको पनि बताउनुएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !