२३ बैशाख २०८१, आइतबार

दलहरुलाई समानुपातिक उम्मेदवारको सूची तयार पार्न हम्मेहम्मे


असोज २९, काठमाडौँ । राजनीतिक दलहरुलाई समानुपातिक उम्मेदवारको सूची तयार पार्न हम्मेहम्मे परेको छ । आज अपराह्न ५ बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएपछि दलहरु आन्तरिक छलफलमा लागेका छन् । सबै जिल्लाबाट ठूलो संख्यामा उम्मेदवार सिफारिस भएर आएकाले नेतृत्वलाई छान्न सकस भएको हो ।

ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु अहिले आन्तरिक छलफलमा बसिरहेका छन् । पार्टीभित्रका गुटसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले नेतृत्वलाई उम्मेदवार सिफारिस गर्न समस्या परेको छ । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन÷तीन जनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा बढी भएपछि नेतृत्वलाई उम्मेदवार छान्न सकस भएको छ ।

एमालेमा पनि प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन समस्या देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७÷८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रमा पनि आवश्यकताभन्दा अत्यधिक बढी आकांक्षी देखिएकाले प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । अन्य राजनीतिक दलहरु पनि समानुपातिक उम्मेदवारको सूची तयार पार्न व्यस्त छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !