१५ बैशाख २०८१, शनिबार

अध्यक्ष रेग्मी धरौटीमा रिहा


Nepalpatra

चितवन, ९ जेठ । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी जम्मा गरी रिहा हुनुभएको हो । यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकम बराबर धरौटी जम्मा गरी रिहा भएका थिए ।

सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा हुनुभएको थियो । घटनाका समयमा लिइएको भिडियोका आधारमा उहाँहरुलाई पक्राउ गरिएको थियो । सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उहाँहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो । सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब रु चार लाखसमेत लुटिएकाले उजुरी गर्नुभएको थियो । प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुई पक्राउ

जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख ६ गते दिउँसो माडी नगरपालिका–५ छरछरेमा १५ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले सुनौलीबाट पक्राउ गरेको हो । स्थानीय ३८ वर्षीय शम्शेर विकले सोही ठाउँका १५ वर्षीया किशोरीलाई घर नजीकै न्युरो टिप्न गएको समयमा जबर्जस्तीकरणी गरी फरार भएका थिए ।

भारतीय प्रहरीको सहयोगमा सुनौली नाकाबाट निजलाई बुधबार पक्राउ गरिएको हो । यसैगरी भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय सुवास परियारलाई आज बिहान पक्राउ गरिएको छ । परियारले स्थानीय १२ वर्षीया बालिकालाई घरमा नै बोलाएर वैशाख ३० गते जबर्जस्तीकरणी गरी फरार भएका थिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !