२७ बैशाख २०८१, बिहिबार

मिक्लाजुङ–२ पूर्ण सरसफाइ उन्मुखवडा घोषित


Nepalpatra

फिदिम, ३० वैशाख । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ लाई पूर्ण सरसफाइ उन्मुखवडा घोषणा गरिएको छ ।

आइतबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले वडालाई पूर्ण सरसफाइ उन्मुखवडा घोषणा गर्नुभयो । मिक्लाजुङ गाउँपालिका–२ र खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति मिक्लाजुङ–२ को आयोजनामा ‘पूर्ण सरसफाइ हाम्रो अभियान, सभ्यताको पहिचान, सफा स्वच्छ घर मिक्लाजुङ–२ को शान’ भन्ने नाराका साथ वडामा रहेका सबै घरधुरी सफा तथा स्वच्छ घर भएको र पूर्ण सरसफाइ उन्मुख वडा कायम गर्ने प्रतिबद्धतासहित वडालाई पूर्ण सरसफाइ उन्मुखवडा घोषणा गरिएको हो ।

उक्त वडा नै पाँचथरको पहिलो पूर्ण सरसफाइ उन्मुख वडा भएको छ । घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले सरसफाइ सभ्यताको गौरवपूर्णयात्रा भएकाले यसलाई थप उचाइमा पु¥याएर मिक्लाजुङको नाम राखेको भन्दै वडा नं– २ लाई धन्यवाद दिनुभयो । सरसफाइ निरन्तर प्रक्रिया भएको भन्दै उहाँले यसको निरन्तरता र नियमितताका लागि स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

वडाका सबै घरमा स्वस्थप्रद चर्पीको प्रयोग हुने, अनिवार्य साबुन पानीले हात धुने व्यवस्था, सफा र सुरक्षित खानेपानी पिउने व्यवस्था, स्वच्छ खाना खाने, धुवाँरहित चुलोको प्रयोग गर्ने, फोहरको उचित व्यवस्थापन गर्ने, घरपालुवा पशुपक्षीलाई घरदेखि छुट्टै स्थानमा राख्ने जस्ता सूचक पूरा गरेपछि वडाका ६९० घरधुरीमा सफा र स्वच्छ घर भएको सूचक टाँस गरिएको मिक्लाजुङ–२ का वडाध्यक्ष सन्तकुमार शेर्माले बताउनुभयो ।

साविक सराङडाँडा गाविस रहेकै अवस्थामा विसं २०७० मा खुल्ला दिसामुक्त क्षेत्र घोषणा, ०७० सालमै विद्यालय शान्ति क्षेत्र घोषणा, विसं ०७२ मा साक्षरता तथा पूर्ण खोपयुक्त गाविस घोषणा, ०७३ मा घरभित्रका धुवाँमुक्त वडा घोषणा र ०७३ मै बालमैत्री गाउँ घोषणा गरी जिल्लाकै महत्वपूर्णकार्य गरेको वडा अध्यक्ष शेर्माले बताउनुभयो ।

सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न सरसफाइ समिति, टोल सुधारसमिति निर्माण गरी परिचालन गर्नुका साथै हरेक चार महीनामा खानेपानीका मुहानको परीक्षण, सु–आहारा कार्यक्रमको सहयोगमा सरसफाइका विभिन्न सूचकको अनुगमन र सल्लाह दिने कार्यलाई समेत निरन्तरता दिइएको वडाध्यक्ष शेर्माले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !