१० जेष्ठ २०८१, बिहिबार

किसानलाई अनुदानै अनुदान


Nepalpatra

२१ चैत, चितवन । माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको रु १८ लाख ६६ हजार अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो । हरेक दिन छ हजार लिटर हाराहारी दूध सङ्कलन हुने गर्दछ । ढकालले कृषकलाई उत्प्रेरित गर्दै दैनिक १० हजार लिटर दूध पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।

माडीमा साना ठूला गरी १७२ कृषि फार्म दर्ता भएका छन् । घरमा गाई भैँसी पालेर सहकारीलाई दूध बिक्री गर्ने कृषकको सङ्ख्या एक हजारभन्दा बढी रहेको उहाँले बताउनुभयो ।

उन्नत जातका गाई भैँसी पाल्न ब्याज सहुलियत

माडी नगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने कृषकलाई चार प्रतिशतमा ऋण प्रवाह शुरु गरेको छ । स्थानीय चार सहकारीसँग सम्झौता गरी अपुग रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ । ढकालका अनुसार सहकारीले नौ प्रतिशतमा कृषकलाई ऋण प्रवाह गर्दछ । कृषकले चार प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत सहकारीलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । शुरुमा एक जना कृषकलाई रु पाँच लाखसम्म यस्तो ऋण सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उन्नत जातका गाई, बाख्रा पाल्न चाहने कृषकलाई ऋण थप्न सकिने ढकालले बताउनुभयो ।

ठूला कृषकका लागि ब्याज छुटमा ऋण प्रवाह गर्न स्थानीय कृषि विकास बैंकसँग समन्वयकारी भूमिका नगरपालिकाले गरेको उहाँले बताउनुभयो । कृषि ऋणमा बैंकले छुट दिने भए पनि साना किसानले पहुँच पु¥याउन कठिन हुने भएकाले नगरपालिकाले सहकारीसँग समन्वय गरेको हो ।

कृषि बीमामा २० प्रतिशत योगदान

सो नगरपालिकाले कृषि बीमा गर्दा कृषकलाई २० प्रतिशत अनुदान दिन शुरु गरेको छ । कृषि बीमामा ७५ प्रतिशत सरकारले अनुदान दिँदै आएको छ । बाँकी २५ प्रतिशतमा २० प्रतिशत नगरपालिका र पाँच प्रतिशत कृषकले ब्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताउनुभयो । यसबाट कृषि क्षेत्रमा हुनसक्ने जोखिमबाट कृषक पूर्णरुपमा सुरक्षित हुने उहाँले बताउनुभयो ।

माछा पोखरीमा अनुदान

उक्त नगरपालिकाले माछा पोखरी खन्न प्रतिकठ्ठा रु १० हजार अनुदान दिन शुरु गरेको छ । माडी माछाको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडीलाई मत्स्य जोन बनाउने उद्देश्यका साथ पोखरी खन्ने कृषकलाई उत्प्रेरित गर्न अनुदान दिन शुरु गरिएको नगर प्रमुख ढकालले बताउनुभयो ।

माडीमा कृषकको अन्न बाली वन्यजन्तुले नोक्सान गर्दै आएको छ । माछामा त्यस्तो प्रभाव नहुने हुँदा नगरपालिकाले कृषकलाई माछापालनतर्फ केन्द्रित गर्ने योजना बनाएको छ । ढकालले माडीलाई मत्स्य जोन बनाउने, उन्नत जातका पशु पालन गर्ने र तरकारी उत्पादनमा जोड दिइने बताउनुभयो । निकुञ्जपारिको बस्तीका रुपमा परिचित माडीमा ४३ हजार जनसङ्ख्या छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !