११ जेष्ठ २०८१, शुक्रबार

‘सङ्गालो’को समापन


Nepalpatra

१५ माघ, काठमाडौँ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन गर्नुभयो ।

कर्माचार्यले युवालाई चित्रकलाप्रति आकर्षित गराउन प्रतिष्ठानले नीति अगाडि बढाउन लागेको बताउनुभयो । उहाँले प्रदर्शनीमा राखिएका चित्र व्यावसायिक चित्रकारको भन्दा कम नभएको उल्लेख गर्नुभयो । विज्ञ चित्रकारको रायसुझावका आधारमा एकेडेमीलाई उत्कृष्ट बनाउने प्रयास आफ्नो रहेको उहाँको भनाइ थियो ।

यही माघ ९ गतेदेखि सञ्चालन भएको सो प्रदर्शनीमा फरकफरक विधामा दश चित्रकारले क्यान्भास रङ्ग्याएका चित्र राखिएको थियो । साहित्यकार युग पाठकले चित्रकलाको विषयमा आवश्यक खोज, अध्ययन र पुस्तक नभएकाले समाजमा कसरी जोड्ने भन्ने विषय अझै गौण रहेकामा त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । चित्रले समाजमा सन्देश दिन सक्नुपर्ने र चित्रकारले पनि समाजमा प्रयोग हुने गरी चित्रको महत्वलाई बुझाउन जरुरी रहेको उहाँको भनाइ थियो । उक्त अवसरमा नवचित्रकारसँग अन्तरक्रियासमेत गरिएको थियो ।

चित्रकारले आ–आफ्नो चित्र प्रदर्शनीस्थलमा ‘इन्स्टलेसन आर्ट’ बनाएर सन्देश प्रवाह गरेका थिए । चित्रमा ट्राफिक सचेतना, सडक बालबालिकाको अवस्था, रहरको शहर तथा संस्कार, संस्कृति र मौलिक पेशालगायत विभिन्न विधाका चित्र समावेश थिए । सङ्गालोमा चित्रकार सुरक्षा वाग्ले, निशा शर्मा, हरिओम मेहता, सन्तोष राई, रामचन्द्र महर्जन, सुरेश बस्नेत, टिवी थापा, सुरजजान सुवेदी, कुमारदोर्जे लामा र राष्ट्र कार्कीका चित्रहरु प्रदर्शन गरिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !