२६ बैशाख २०८१, बुधबार

चन्द्रागिरी केबलकार आजदेखि सञ्चालनमा, दुईतर्फी भाडा सात सय रुपैयाँ


chandragiri-cable-car

काठमाडौँ : बहुप्रतिक्षित चन्द्रागिरी केबलकार आजदेखि आंशिक सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ। केबलकारबाट दुई तर्फी यात्रा गर्न ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

आवश्यक केही सुविधा सम्पन्न गरिसकेपछि केबलकार पूर्ण व्यवसायिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरमा सोमबार वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि व्यवसायिक सुरुवात गरिएको हो।

सोमबार कम्पनीका सञ्चालकहरुले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्द्रागिरी वरपरका स्थानीयवासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबलकार चढ्ने व्यवस्था गरिएको थियो। काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीयवासिन्दाहरुलाई आमन्त्रण गरिएकोमा १०,६४१ जनाले सोमबार केबलकारको निःशुल्क सेवा लिएको कम्पनीले जनाएको छ।
के छ विशेषता ?

काठमाडौंकै सबैभन्दाअग्लो स्थानचन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीनविशेषता रहेका छन् ।

१. धार्मिक महत्व
देवादिदेव महादेवले आफ्नी प्रिय सतिदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरी पर्वतमा पुगेको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ।भाल पतनभएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ।

भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्तिपाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन्। यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँआकर्षक मन्दिर निर्माण गरिएको हो।

२. ऐतिहासिक महत्व
चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरी हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशमा उल्लेख छ। उनको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराजपन्तले उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत रहेको छ ।

३. प्राकृतिक सौन्दर्यको अनुपम पहाड

चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो। घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ। क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ।

चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाकोअवलोकनगर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ ।

नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ। करिब १८० डिग्रीको रेन्जमायहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ।

सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो। हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ।

पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ। हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !