२० बैशाख २०८१, बिहिबार

सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भयो : प्रधानन्यायाधीश श्रेष्ठ


विश्वम्भरप्रसाद श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा न्यायिक सुशासनको सुरुवात भएको बताएका छन् ।

सर्वोच्चमा आजदेखि सुरु भएको पेसी तारिख अटोमेसनको शुभारम्भपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासन प्रारम्भ भएको बताएका हुन् ।

सर्वोच्चमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायिक सुशासनका लागि राम्रो सुरुवात भएको आफूले महसुस गरेको बताए । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले अटोमेसनले कर्मचारी र न्यायाधीशमा पनि आत्मविशवास बढाउने विश्वास व्यक्त गरे । उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने समेत बताए ।

स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उनले बताए । श्रेष्ठले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताए ।

उनले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको समेत बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको श्रेष्ठले जानकारी दिए ।

पेसी तारिख अटोमेसन सञ्चालनका लागि काम गरेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीसहित आइटी टिममा बसेर काम गरेकाहरूलाई प्रधानन्यायाधीश श्रेष्ठले धन्यवाद दिए ।

उनले सर्वोच्चको आफ्नो जनशक्तिबाटै सफ्वेर निर्माण भएको भन्दै भोलिका दिनमा कुनै समस्या आएमा समाधान हुने बताए ।व यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरुमा पनि लागू गरिने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !