२५ बैशाख २०८१, मंगलबार

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी बाबुछोराको मृत्यु


केशरबहादुर राई र सुरेश राई

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मेहेलेमा पहिरोमा परी बाबुछोराको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेको मुकुभञ्ज्याङका ६७ वर्षीय वृद्ध केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको हो ।

लगातार परेको पानीसंगै गएराति झरेको पहिरोमा परी बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले जानकारी दिए ।

घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको स्थानीय कमल कडरियाले जानकारी दिए । समयमै उपचार हुन नसकेपछि सुरेशको मृत्यु भएको हो ।

प्राथमिक उपचार समेत पाउन नसकी सुरेशको मृत्यु भएको स्थानीयले बताएका छन् । स्वास्थ्य चौकी आइतबार पहिरोले बगाएको र थप स्वास्थ्य सामग्री नभएकोले उपचार गर्न कठिनाई भएको हो ।

घाइते अवस्थामै उद्धार गरिएका ४५ वर्षीय राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए । वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको छ ।

पहिरोबाट उद्धार गरिएका राजकुमारलाई सरकारले उपचारका लागि पठाउने भने पनि अहिलेसम्म हेलिकप्टर नआएको स्थानीयले बताएका छन् । राजकुमारलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ ।

यसअघि शनिवार रातिको पहिरोबाट बेपत्ता मेहेले भालुखोपका भगिमाँया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता नै छन् । पहिरोमा परी बेपत्ता भएकामध्ये मेहेले भालुखोपका गणेश तामाङको शव फेला परिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !