२५ बैशाख २०८१, मंगलबार

रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु


रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु फाइल फोटो

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको हो ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका पीपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई जना आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका-१ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेका छन् ।

यद्यपि पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ । हिजो शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार पहिरो गएको हो ।

आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका-१ स्थित माइतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पीपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लगेर बसेका थिए । सोही समयमा घर माथिबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका थिए ।

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक घरको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको प्रहरीले बताएको छ ।

घाइते तिर्सनालाई भेरी नगरपालिका-१ रिम्नामा प्राथमिक उपचार गरेर एम्बुलेन्स मार्फत जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !