२५ बैशाख २०८१, मंगलबार

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी


पसल

काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नेपालीको चाडपर्व नजिकिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

असोजको दोस्रो-तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ ।

प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । सरकारले चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ ।

सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस पटक दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । यसपालि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरिएको छ ।

गत वर्ष कम्पनीले प्रतिकेजी १० रुपियाँ छुट दिएर खसीबोका बिक्री गरेको थियो । कम्पनीले उपत्यकामा घटस्थापनाको दिनदेखि सहुलियत मूल्यमा खसीबोका बिक्री गर्ने गर्छ । दशैँमा उत्यकामा मात्रै ५० हजार खसीबोका खपत हुने गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !