२४ बैशाख २०८१, सोमबार

घर सापटीदेखि शैक्षिक सापटीसम्मका सामाजिक सुरक्षा कोषकाे योजना आजदेखि


सामाजिक सुरक्षा कोष

काठमाडौं । सामाजिक सुरक्षा कोषले आज भदौ १ गतेदेखि चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ । कोषमा योगदानकर्ता आबद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याउने भएको हो ।

कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो । सापटी योजनामा आबद्ध हुनका लागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रुपैयाँसम्म लिन पाइने छ ।

तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने योगदानकर्ता सापटी शाखाका प्रशासकीय अधिकृत डीबी सुन्दर पराजुलीले जानकारी दिए । यस्तो सापटी लिनको लागि जग्गा द्दिटो राख्नुपर्ने हुन्छ । सापटी लिएको २० वर्षभित्र चुक्ता गर्नुपर्ने छ ।

त्यसैगरी योगदानकर्ता शैक्षिक सापटीअन्तर्गत योगदानकर्ता, निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी प्रदान गरिने छ ।

यस्तो सापटीमा ३५ लाखसम्म पाइने छ । तर, सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च हिसाब गरी सापटीका लागि आवेदन दिन पर्ने छ ।

जसमा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, आवस खर्च, शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च र ट्राभल तथा बिमा खर्च समावेस गर्नुपर्ने छ । यस्तो सापटी लिएको १५ वर्षभित्र चुक्ता गर्नुपर्ने छ । सापटी लिनका लागि धितो अनिवार्य रहेको छ ।

सामाजिक कार्य सापटीअन्तर्गत पाँच लाखसम्म सापटी लिन पाइने छ । योगदानकर्ताले आफू वा एकाघर वा सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषबाट सामाजिक कार्य सापटी प्रदान गर्ने बताइएको छ ।

योगदान कर्ताले विशेष सापटी बिना धितो प्राप्त गर्न सक्नेछन् । अवकास कोषमा जम्मा भएको रकमको ८० प्रतिशत रकम योगदानकर्ताले सापटी लिन पाउने छन् । यो सापटी अनलाइनबाट नै लिन मिल्ने बनाइने बताइएको छ । यसमा धितो राख्न नपर्ने र योगदानकर्ताको अवकास कोषमा जम्मा भएको रकम सापटी लिन पाइने भएकाले आवश्यक कागजपत्र अपलोड गरेर अनलाइनबाट नै आवेदन दिन मिल्ने व्यवस्था गरिने बताइएको छ ।

योगदानकर्ता घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी वार्षिक ब्याजदर ९.७५ प्रतिशत रहेको छ । त्यस्तै विशेष सापटीमा भने योगदानकर्ताले वार्षिक ९.१ प्रतिशत तिर्नुपर्ने छ ।

योगदानकर्ताले घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी पनि लिन पाउने व्यवस्था रहेको छ । यी तीन वटै सापटी लिन चाहेका एक करोड रुपैयाँ वा १५ वर्षको तलब बराबारको रकम सापटी लिन पाइने छ ।

साउन ८ गतेसम्म सामाजिक सुरक्षा कोषमा ३ लाख ४८ हजार १७३ जना योगदानकर्ता र १७ हजार २१८ रोजगारदाताबाट २१ अर्ब २८ लाख रुपैयाँ रकम कोषमा जम्मा भइसकेको छ । त्यस्तै उक्त अविधिसम्म १ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !