२४ बैशाख २०८१, सोमबार

बलात्कार मुद्दामा हदम्याद बढ्यो, नाबालिगले १८ वर्ष पुगेको ३ वर्षसम्म उजुरी दिनसक्ने


बालिका बलात्कृत

काठमाडौं । बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद बढेको छ । नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको हो ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले हदम्याद बढाउने गरी तयार पारिएको यौन हिंसासम्बन्धी कानुनको संशोधन विधेयक सहितको प्रतिवेदन पारित गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको हुन् ।

हाल १८ वर्षमुनिको नाबालिगले बलात्कार भएको घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था रहेकोमा अव नाबालिग करणी मुद्दामा १८ वर्ष पुगेको तीन वर्षसम्म उजुरी दिनसक्नेगरी हदम्यादको प्रस्ताव गरिएको हो ।

उक्त समितिले मुलुकी अपराध संहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कार लगायतका यौनहिंसाको घटनामा हदम्याद बढाएको हो । प्रतिवेदनमा जबरजस्तीकरणीको परिभाषा र हदम्याद लगायत यौन हिंसासम्बन्धी भएका सम्पूर्ण कानुनको अध्ययन गरी समग्र कानुनको सुधारका लागि विधेयक पेस गर्न सरकारलाई सुझाव पनि दिइएको हो ।

यस्तै १८ वर्षदेखि ७० वर्ष उमेर समूहमा भएको बलात्कारको घटनामा उजुरीको हदम्याद २ वर्ष कायम भएको छ । यसअघि सो उमेर समूहमा पनि यसअघि १ वर्षभित्र उजुरी गर्नुपर्ने हदम्यादको व्यवस्था थियो । त्यस्तै ७० वर्ष माथिका जेष्ठ नागरिक, सुस्त मनस्थिति भएका व्यक्ति र अपांगको हकमा पनि उजुरीको हदम्याद ३ वर्ष कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !