१८ बैशाख २०८१, मंगलबार

काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव


भारतीय राजदूत नवीन श्रीवास्तव

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।

राजदूतमा नियुक्त भएको करिब एक महिनापछि श्रीवास्तव आज शनिबार अपराह्न ४ः०० बजे नयाँदिल्लीबाट कार्यभार सम्हाल्न भिस्तरा एयरको उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत श्रीवास्तवलाई भारतीय राजदूतावासका नियोग उप-प्रमुख एवं कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी नामग्य सी खम्पा, दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।

सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुपूर्व परराष्ट्र मन्त्रालय अन्तर्गतको पूर्वी एसिया विभागको नेतृत्व गरिरहेका थिए ।

यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रुपमा श्रीवास्तवले चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुख थिए । करियर कूटनीतिज्ञ श्रीवास्तव चिनियाँ मामिला जानकार हुन् ।

उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । पूर्वीलद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन डिसी, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !