२५ बैशाख २०८१, मंगलबार

रहेनन् वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्मा


कृष्णराज बर्मा

काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारत ९३ वर्षीय बर्माको आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निमोनिया रोगको उपचारकै क्रममा आइतबार दिउँसो ४ बजे निधन भएको हो । बर्मालाई १४ दिन अगाडि नै छातीमा समस्या देखिएको थियो । उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उनी लामो समयदेखि नसाको रोगबाट बिरामी गरेका थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्थे ।

२००७ सालको राणा विरोधी आन्दोलनकालदेखि नै राजनीतिमा सक्रिय पुराना कम्युनिष्ट नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये एक थिए । उनी नेतृत्वको ‘नेकपा वाम मोर्चा’ पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा रुपमा सामेल भएको थियो ।

उनको आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको परिवारले बताएको छ । उनकी पत्नी, ३ जना छोरा र ३ जना छोरी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !