२६ बैशाख २०८१, बुधबार

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन


जयनन्द लामा

काठमाडौं । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले लामाको निधन भएको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

आज बुधबार बिहान भक्तपुरको कौशलटारमा लामाको निधन भएको हो । उनी विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको हो ।

वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै थुप्रै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । लामाले २०३० सालमा ‘मनको बाँध’ चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।

उनले चलचित्र छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृखंलामा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनले गाएका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, मुलाको चाना लगायत थुप्रै लोकगीत लोकप्रिय छन् । सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपालपत्रको तर्फवाट वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाप्रति हार्दिक श्रद्धान्जली ! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !