२५ बैशाख २०८१, मंगलबार

पशुपति क्षेत्रका अव्यवस्थित टहरा १५ दिनभित्र हटाउन कोषको निर्देशन


पशुपति क्षेत्रमा अव्यवस्थित टहरा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउने भएको छ । कोषले पशुपति क्षेत्रमा अव्यवस्थित टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएको हो । कोषले हिजो एक सार्वजनिक सूचना जारी गर्दै पशुपति क्षेत्रमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा १५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउन निर्देशन दिएको हो ।

कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको कोषले बताएको छ । पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ ।

यसअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका थिए । केहि दिनअघि उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका थिए ।

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताएका थिए ।

पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिएका थिए । क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गरेका थिए ।

यसैगरी मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिएका थिए । पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिएका थिए ।

यस्तो पशुपति क्षेत्र विकास कोषले जारी गरेको सार्वजनिक सूचना

कोषको निर्देशन

यो पनि पढ्नुहोस्

पशुपति क्षेत्रमा अतिक्रमित टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !