२६ बैशाख २०८१, बुधबार

मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु


चितवनमा ट्र्याक्टर दुर्घटना फाइल फोटो

काठमाडौँ । मोरङ जिल्लाको बेलबारी नगरपालिका–५ कसेनीमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा १ बालकसहित २ जनाको मृत्यु भएको छ । स्थानीय इन्द्र दर्जीको खेत जोतेर फर्कने क्रममा को २ त ८६८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार राति ८ बजेतिर दुर्घटना हुँदा ट्याक्टरका सहचालक रङ्गेली नगरपालिका–१ का २२ वर्षीय विजय हेमरन र ट्याक्टरमा सवार १५ वर्षीय बालक अविनाश मरन्डीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा राति १०ः२५ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक रङ्गेली–१ का २७ वर्षीय आइत सतार टुडुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीका अनुसार उकालो बाटो पार गर्ने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !