२५ बैशाख २०८१, मंगलबार

छ महिनादेखि ‘जियोफिजिकल सर्वे’ प्रतिवेदन कुर्दै विभाग


पुरातत्व विभाग

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्व स्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको नौ महिना भयो । बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित विभिन्न स्थानमा गत फागुनमा गरिएको सर्वेमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाइएको थियो ।

बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कञ्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्वे गरेको थियो । सर्वेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ । “डाटा विश्लेषण गर्दा सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, बेलायतबाट सर्वेको विस्तृत प्रतिवेदन आउनेछ”, पाठकले भन्नुभयो ।

सर्वेको तीन महिनापछि विस्तृत प्रतिवेदन आउने जनाइए पनि हालसम्म नआएको विभागले जनाएको छ । “हामी पनि बेलायती विज्ञ टोलीबाट प्रतिवेदनको पर्खाइमा छौँ, सायद कोरोनाका कारण ढिलो भएको हुनसक्छ, हामी फलोअप गर्दैछौँ”, विभागका पुरातत्व अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो । उहाँका अनुसार प्रतिवेदन आउने भनिएको समयको पनि छ महिना बितिसकेको छ ।
कुँवरले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेपलाञ्चोकको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा जियोफिजिकल सर्वे गरिएको बताउनुभयो ।

उहाँका अनुसार सर्वे गरिएको कुनैपनि स्थानको हालसम्म रिपोर्ट आएको छैन । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्वे गरेको थियो । कुँवरका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ । उहाँले भन्नुभयो,“पाँचखाललाई प्राथमिकतामा राखेका छौँ ।”

पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको थियो । यसअघि विभागले युनेस्कोलाईसमेत गत असारमा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो ।

पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो । सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउछ ।

विभागका निर्देशक दामोदर गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले छ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाइएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ ।
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँट्टा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

नगरप्रमुख महेश खरेलले सम्पदा संरक्षणमा प्रयास भइरहेको बताउँदै सर्वेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणमा ‘माष्टरप्लान’ बनाउने बताउनुभयो । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !