२४ बैशाख २०८१, सोमबार

फरार चार प्रतिवादी पक्राउ


पक्राउ

तनहुँ । विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् ।

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । गुरुङ चार वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका–२ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते दश दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । अधिकारी पनि चार वर्षपछि पक्राउ परेका हुन् ।

यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका दुई जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

आफ्नै घरमा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई रु २५ लाख दिनुपर्ने माग छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !