२६ बैशाख २०८१, बुधबार

मगंलबजार सिलिन्डर विस्फोट (अपडेट) : यी हुन् मृत्यु हुने एकै परिवारका ४ जनाहरु


ग्यास सिलिन्डर विस्फोट

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१२ पाटनको मगंलबजारमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ग्यास सिलिन्डर विस्फोट हुँदा मृत्यु हुनेहरुमा ६५ वर्षीय घरधनी लक्ष्मीकृष्ण ताम्राकार, ३५ वर्षीया बुहारी रचना ताम्राकार, ३५ वर्षीया छोरी अञ्जना ताम्राकार र १० वर्षीय नाती निर्जल ताम्राकार रहेका छन् ।

यस्तै सो ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भिर घाइते हुनेहरुमा मृतक घरधनीका ४२ वर्षीय छोरा निरज ताम्राकार र ३२ वर्षीया बुहारी सिर्जना ताम्राकार रहेका छन् । यी घाइतेहरुको पाटन अस्पतालमा उपचार भई रहेको छ ।

प्रहरीका अनुसार घरमा ग्यास विस्फोट हुँदा घर समेत पूर्ण रुपमा क्षति पुगेको छ । आज साँझ ६ बजेर ४७ मिनेटमा प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

ग्यास सिलिन्डर विस्फोट भएको उक्त घरमा बसिरहेका ११ जना मानिसमध्ये ४ जनाको मृत्यु भइसकेको हो २ जना अस्पतालमा उपचाररत रहेका छन् भने ५ जनाको सकुशल उद्धार भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यका अनुसार ४ जनाको शव घरबाट निकालिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !