२४ बैशाख २०८१, सोमबार

सिभिल ग्रुपका अध्यक्ष तामाङलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


इच्छाराज तामाङ

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद एवं सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिआइबीका अनुसार तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको थियो । तामाङलाई रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि पक्राउ गरिएको थियो ।

जिल्ला अदालत काठमाडौंले पहिलो चरणको अनुसन्धानका लागि हिजो मंगलबार उनीहरूलाई ५ दिन थुनामा राख्ने अनुमति दिएको हो । सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा उनीहरूमाथि अहिले ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकरी दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानका लागि पुन: अदालतको अनुमति लिइने भएको छ । अहिलेसम्म १३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेकोले उनीहरूलाई संगठित रूपमा ठगी गरेको आरोप लागेको हो ।

ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँने भएकोले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्नेछ ।

तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् भने उक्त सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि पक्राउ परिसकेका छन् । अन्य पक्राउ पर्ने उक्त सहकारीमा कार्यरत कर्मचारीहरूमा भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने रहेका छन् ।

असोज १८ गते सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई पक्राउ गरेको छ । ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग लागेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सोमबार सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको थियो । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएका दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !