२५ बैशाख २०८१, मंगलबार

पाँच वर्षमा देश रेलमय हुन्छः प्रधानमन्त्री


oli

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्र मुलुकलाई रेलमय बनाउने बताएका छन्।

युवा संघ नेपालले आफ्नो २६ औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने बताए। उनले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको विरोधबाट आफू पछाडि नहट्ने बताए। विदेशमा रेल चलाउन हुन्छ भने नेपालमा किन नहुने भन्ने प्रश्न गर्दै पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं तथा काठमाडांैदेखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने दाबी गरे।

प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई पूर्ण रुपमा डिजिटलयुक्त बनाउने दाबी समेत गरे। उहाँले सरकारी कार्यालयहरुलाई कागजमुक्त बनाइ कम्प्युटरबाट मात्र काम हुने निकायका रुपमा विकास गरिने दाबी गर्दै प्रविधिको प्रयोग गर्न कसैले पनि रोक्न नसक्ने बताए। प्रधानमन्त्री ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सिंहदरबार घेराउ आन्दोलनलाई गर्मीका बेला रुखको छहारी खोजेर हिँडेजस्तै भनी टिप्पणी गरे।

उनले आन्दोलनमा मधेशी जनताले साथ नदिएपछि मोर्चाले संघीय गठबन्धनका नाममा सिंहदरबार घेराउको कार्यक्रम राखेको भन्दै मोर्चाको आन्दोलन र गर्मीका बेला रुखको छहारी खोजेर हिँड्ने प्रवृत्ति उस्तै भएको बताए। प्रधानमन्त्री ओलीले जायज माग सम्बोधनका लागि सरकार सदैव तयार रहेको भन्दै आन्दोलन छोडेर वार्तामा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !