२० बैशाख २०८१, बिहिबार

ओलीनिकट भातृ संगठनका कार्यकर्ताले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला


माधव नेपाल फाइल फोटो

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट भातृ संगठनका कार्यकर्ताहरूले पार्टीका वरिष्ठ नेता माधव नेपालको कोटेश्वरमा पुत्ला जलाएका छन् ।

आज बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरू त्यहाँबाट फर्किएर कोटेश्वरमा भेला भएका हुन् । अहिले उनीहरूले कोटेश्वर चोकमा पुगेर कोण सभा गरेको प्रहरीले जानकारी दिएको हो ।

सोही क्रममा उनीहरूले माधव नेपालको पुत्लासमेत जलाएका थिए । प्रहरी र प्रदर्शनकारीहरूवीच पुत्ला खोसाखोस भएको थियो । उनीहरूलाई माधव नेपाल निवासतिर जानबाट रोक्न प्रहरी सुरक्षा समेत बढाइएको छ ।

ओलीनिकट भातृ संगठनले एमालेका नेता माधव नेपालको घर घेर्ने तयारी गरेका थिए । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेकोले युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरेको छ ।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गरेका थिए।

उनीहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए । अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !