२३ बैशाख २०८१, आइतबार

विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषणमा राससको भूमिका प्रशंसनीय : सचिव अर्याल


डा. बैकुण्ठ अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राससको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले राज्यद्वारा सञ्चालित मुलुकको एक मात्र समाचार समितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिएका छन् ।

सचिव अर्यालले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको रासस राज्य र समाजको हरेक तह र तप्कालाई जोड्ने कार्यमा अझ बढी सक्रिय एवं समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । हाल देशमा उद्योगका रुपमा फस्टाइरहेको आमसञ्चारमाध्यमका बीच अझ सबल, व्यावसायिक र प्रतिस्पर्धी बनी आत्मनिर्भरोन्मुख दिशामा अघि बढ्दै आमजनताको मन जित्न रासस सफल हुने उनले विश्वास व्यक्त गरेका छन् ।

सेवाग्राही आमसञ्चार माध्यमको माग र भावना बमोजिम विविधतायुक्त एवं गुणस्तरीय समाचार सम्प्रेषण गरी आफूलाई अझ जवाफदेही र उत्तरदायी बनाउँदै सूचनाको पहुँच विस्तार गर्ने अभियानमा सरिक हुन सचिव अर्यालले रासस व्यवस्थापनलाई आग्रह गरेका छन् ।

उनले सूचना प्रविधि क्षेत्रमा देखिएको अभूतपूर्व विकासका माझ समयसापेक्ष रुपमा रूपान्तरित भई अलग्गै पहिचानसहितको एक लोकप्रिय एवम् सशक्त सञ्चारमाध्यमका रुपमा रासस अघि बढ्न सकोस् भन्ने कामना गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !