२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिको शुभकामना : ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन आह्वान


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।

तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मिहिनेतले मात्र यो अभियान सार्थक हुन सक्दछ ।

कोभिड-१९ महामारीको बीचमा पनि नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीय तहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ संस्थाले विद्युतीय प्रविधिको प्रयोगबाट ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेकोमा राष्ट्रपतिले खुसी व्यक्त गरेकी छन् ।

ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव‚ सफलता–असफलता र संघर्षपूर्ण भोगाईबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने पनि राष्ट्रपतिले भण्डारीले उल्लेख गरेकी छन् ।

विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्‍वलाई नै आक्रान्त बनाएको कोभिड-१९ महामारी विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा महामारीबाट पूर्ण मुक्ति नपाएसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहन सम्बद्ध सबैमा राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा राख्दै ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !