१४ बैशाख २०८१, शुक्रबार

संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र राप्रपाको प्रमुख एजेण्डा हो – मन्त्री चन्द


जयन्त चन्द अघिल्लो पटक केपी शर्मा ओलीको मन्त्रीमण्डलमा बाणिज्य मन्त्रीको सपथ लिदै चन्द

मंसीर १८, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जयन्त चन्दले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । हाल उहाँ राप्रपाको महामन्त्री एवं प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार पनि हुनुहुन्छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका सुपुत्र जयन्त चन्द राप्रपामा शालिन स्वभावका बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ । नेपालमा अहिले संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको सान्दर्भिकता दिनप्रतिदिन बढिरहेको बताउनु भएको छ । संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र राप्रपाको प्रमुख एजेण्डा हो भन्ने धारणा पनि व्यक्त गर्नु भएको छ । उहाँ पहिला छोटो समय बाणिज्य मन्त्री पनि हुनुभयो । अहिले आपूर्ति मन्त्री भई सकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र र मन्त्रालयका भावी योजनाको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी  ।

१. तपाई राप्रपामा बौद्धिक तथा भद्र नेताको रुपमा चिनिनुहुन्छ । आपूर्ति मन्त्रालय अन्तर्गतका तपाईका भावी योजनाहरु के के छन् ?

अव म छोटो समयको लागि मन्त्री भएकोले गर्दा भावी दीर्घकालीन योजना बनाउन समय पनि लाग्ने भएकोले पुराना महत्वपूर्ण योजनाको प्रभावकारी कार्यान्वन गर्नेतर्फ मेरो ध्यान केन्द्रित भएको छ । मन्त्रालयका गर्नुपर्ने दैनिक कार्यहरु र समस्याहरुको सामधान गर्ने काम भई रहेको छ।

२. राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउने संकल्प सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । के यो सम्भव छ त ?

होइन राजनीतिमा असम्भव भन्ने कुरा केहि पनि हुदैन। हाम्रो पार्टीले शुरुदेखि नै राजतन्त्र र हिन्दू राष्ट्रलाई प्रमुख एजेण्डाको रुपमा आवाज उठाउदै आएको कुरा हो । यो मुलुकमा संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र नहुँदा मुलुकले जुन दुरदशा भोग्नुपर्छ भन्ने हामीले त्यो बेला अनुमान गरे जस्तै अहिले देशको अवस्था त्यहि भएको छ। नेपालमा अहिले संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको सान्दर्भिकता दिनप्रतिदिन बढ्नुका साथै जनताले पनि यसको आवश्यकताको महसुस गरिरहेका छन् ।

३. हिन्दू राष्ट्रको आवाज चर्को स्वरमा सुनिए पनि राजतन्त्रको कुरा हिजोआज खासै सुन्नमा आएको छैन, राजतन्त्र बारेको तपाईंहरूको पछिल्लो धारणा के हो ?

हाम्रो पार्टीको घोषणापत्र र बिधानमा संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको कुरा प्रष्ट उल्लेख गरेको छ । संबैधानिक राजतन्त्र र हिन्दुराष्ट्र पनि अहिले हाम्रो पार्टीको प्रमुख एजेण्डा हो । अप्रत्यक्ष रुपमा हिन्दू राष्ट्र भन्दा त्यसभित्र राजतन्त्र लुकेर संगै रहेकै हुन्छ ।

४. नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्न भन्ने प्रक्रिया के भई रहेको छ ?

उहाँ निक्कै अगाडिदेखि मन्त्रालयमा नै हुनुहुन्छ ।

५. नेपाल आयल निगमलाई व्यवस्थित र पारदर्शी बनाउने के छ योजना ?

होइन यसको लागि सवभन्दा पहिला आपूर्ति सहज हुनुपर्यो जसमा अहिले समस्या छैन। यसलाई दीर्घकालीन सुधार गर्ने कुराहरु छन् । यसको लागि ठुलो गृहकार्य गरेर बैकल्पिक स्रोत र बाटो पनि अवलम्वन गरेर भण्डारण क्षमता पनि बढाउनुपर्छ । नेपाल आयल निगमले अपनाएको अटो प्राइसिग सिस्टमलाई लागु गर्नुपर्छ । यसलाई वीचमा लागु गर्ने प्रणाली  रोकिएकोले गर्दा नेपाल आयल निगमको आम्दानी कम हुन् गएकोले गर्दा फेरि यसलाई लागू गर्नुपर्ने नै हुन्छ ।

६. नेशनल टेडिङ लिमिटेडको धराशायी अवस्थालाई नयाँ रुपमा ढाल्न मन्त्रालयले कस्तो ठोस कदम चाल्छ ?

यसको लागि एउटा कमिटि गठन गरेर के गर्ने भन्ने बारेमा करीव-करीव अध्ययन पुरा गरि सकेको छ । ३/ ४ वटा विकल्पमध्ये राम्रो कुरा बिकल्प छानेर त्यहि अनुसार यसको ब्यबस्थापन गरिन्छ।

७. चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता कार्यन्वयन गर्न मन्त्रालय कसरी अघि बढी रहेको छ ?

नेपाल आयल निगम लिमिटेड भनेको जनतालाई अति-आवश्यक उपभोग्य पेट्रोलियम पदार्थ बेच्ने एउटा ब्यापारिक संस्था पनि भएकोले गर्दा जहाँवाट ल्याउदा सहज र न्युनतम मुल्यमा ल्याउन सकिन्छ भन्ने ब्यापारिक अर्थतन्त्रको सिद्दान्त अनुसार त्यो बाटो अवलम्वन गर्नुपर्छ । दीर्घकालीन सोच बनाएर बिकल्प चाहि राक्नुपर्छ। चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता भएर शुरु केहि पनि आएको थियो। तर दक्षिणको नाका खुलेपछि यो कुरा अलि सेलाएको जस्तो देखिएपनि यसको बर्तमान अवस्था हेरेर ब्यापारिक दृष्टिकोणलाई अध्ययन गर्नुपर्छ।

८.  दूर्गम क्षेत्रमा खाद्यान्न समयमै उपलब्ध गराई खाद्यान्न अभाव हुन नदिन आवश्यक स्रोत र साधनको व्यवस्था गर्न मन्त्रालय कसरी अघि बढी रहेको छ ?

खाद्यान्नको कुरा गर्दा खाद्य संस्थान ४३ बर्ष पुगेर ४४ बर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा यसले विभिन्न विषम परिस्थितिका वावजुद पनि देशमा प्राकृतिक विपत्ति पर्दा होस् वा अन्य संकटको स्थितिमा पनि यसले सन्तोषजनक खाद्यान्न उपलब्ध गराएतापनि प्रभावकारी ढंगले उपलब्ध गराई खाद्यान्न अभाव हुन नदिन आवश्यक स्रोत र साधनको व्यवस्था गरी रणनीतिक रुपमा अघि बढन मन्त्रालयले यसलाई निर्देशन दिएको छ। विभिन्न ठाउँहरुमा खाद्यान्न डिपो चाहियो भनेर मागहरु मन्त्रालयमा पनि आएकोले आवश्यकता हेरी नयाँ डिपो खोल्नको लागि खाद्य संस्थानका जिम्मेवार पदाधिकारीहरुलाई निर्देशन दिएको छु ।

९.  पुर्व राजाले तिहारको भाईटिका लगाएसकेपछि  पुर्वराजा ज्ञानेन्द्रले ‘जनताले चाहे राष्ट्रको नेतृत्व गर्ने’ दिएको अभिब्यक्तीलाई राप्रपाले कसरी लिएको छ ?

हाम्रो पार्टीले शुरुदेखि नै संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रलाई प्रमुख एजेण्डाको रुपमा आवाज उठाउदै आएको छ । पुर्वराजाले पनि देशको बर्तमान परिस्थितिलाई अरु नागरिक जस्तै मुल्यांकन गरिरहेका छन् । देशको अहिलेको बिग्रदो परिस्थितिलाई हेरेर चिन्ता गरेर देशको अवस्था रहेमा मैले देशको नेतृत्व गर्ने दिन आउछ भनेर दलहरुलाई संचेत र सजक गराई संकेत गर्न खोजेको हो । दलहरु सच्चेनन भने फेरि अन्ततोगत्वा देश बचाउन राजतन्त्रमा जानैपर्छ ।

१०. अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनतालाई के भन्न चाहनुहुन्छ ?

गएको मंसिर १० पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भई सकेको छ । अव आउने मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । म आम नेपाली जनतालाई विनम्र अनुरोध के गर्न चाहन्छु भने यो एतिहासिक निर्वाचन भएकोले गर्दा जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी लोभ-प्रलोभनमा नपरी नयाँ संसद छान्दा बिचार गरेर लोकतन्त्रलाई बलियो बनाउन  योग्य संसदलाई मत दिएर जिताऊ भन्ने अनुरोध  गर्न चाहन्छु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !