१५ बैशाख २०८१, शनिबार

आगलागीबाट पच्चीस लाख क्षति


आगलागी

बनेपा । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका–२ घर भई सटर भाडामा लिई सञ्चालन गर्नुभएका दयाराम कोइरालाको किराना पसलमा बिहान करिब साढे १ बजे अचानक विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना सङ्क्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ ।

आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताउनुभयो । आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !