२० बैशाख २०८१, बिहिबार

ललितपुरमा रौतहटका १ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

काठमाडौं, असार १५ । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको छ । रौतहट निवासी ३० वर्षीय ती पुरुषलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो ।

शनिबार राती नै उनको मृत्यु भएको थियो तर उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै आएको हो । अस्पतालका अनुसार ती युवकको छातीमा गम्भीर संक्रमण देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको छ ।

अस्पताल ल्याउँदासम्म बिरामीको अवस्था गम्भीर भई सकेको थियो । बिरामी कोभिड आईसीयूमा भर्ना गरेर स्वाब परीक्षणका लागि पाटन अस्पताल पठाइएको थियो । शव डिस्इन्फेक्ट गरी प्लास्टिकमा सुरक्षित साथ बेरेर व्यवस्थित गरी अस्पतालमा राखिएको छ । संक्रमित शव सेनाको जिम्मा लगाइएको छ ।

संक्रमितको उपचारमा संलग्न १ जना चिकित्सक २ जना स्टाफ नर्स र १ जना सहयोगीलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । बिरामीका ४ जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ । मृतकका आफन्तको पनि स्वाब परीक्षण गरी रिपोर्ट नआएसम्म अस्पतालले उनीहरुको खाने बस्ने व्यवस्था गर्नेछ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

नेपालमा यसअघि सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा ३ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका २ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका २ जना, चितवनका ३ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना, बाराका १ जना, दाङमा १ जना गरी २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !