२४ बैशाख २०८१, सोमबार

वन्यजन्तुको चोरी सिकार बढ्दो


वन्यजन्तु

महोत्तरी, १४ वैशाख । पूर्वपश्चिम राजमार्गको दायाँबायाँस्थित महोत्तरीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको छ । कोभिड–१९ सन्त्रास छल्न ‘लकडाउन’ जारी रहेका बेला जिल्लाको वन क्षेत्रमा चोरी सिकारको क्रम बढेको हो ।

दुई साताभित्रै डिभिजन वन कार्यालय महोत्तरीको वन सुरक्षा गस्तीले पाँचवटा घाइते वन्यजन्तुको उद्धार गरेको छ । आज मध्याह्नपूर्व जिल्लाको लक्ष्मीनियाँचोक नजीकै घाइते हरिणको उद्धार गरिएको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

यसै महिनामा तीनवटा नीलगाई र एउटा चित्तलको उद्धार गरेर उपचार गराई सघन वन क्षेत्रमा छाडिएको थियो । यसै अवधिमा जिल्लाको सागरनाथ वन विकास परियोजनाको रामनगर नजीकै एउटा नीलगाई मृत फेला परेको थियो ।

जिल्लाको वन क्षेत्रमध्ये सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र चोरी सिकार बढेको छ । पूर्वपश्चिम राजमार्गको दक्षिण पर्ने यो क्षेत्रमा सबैभन्दा बढी बँदेलको चोरी सिकार हुने गरेको वन क्षेत्र नजीकका बासिन्दा बताउँछन् । वन क्षेत्रमा चोरी सिकार हुन थालेपछि बँदेल र नीलगाई बस्तीमा पसेका छन् ।

अहिले बँदेल र नीलगाई पूर्वपश्चिम राजमार्गबाट ४० किलोमिटर दक्षिणको भारतीय सीमावर्ती क्षेत्रमा छ्यास्छ्यास्ती देखिन थालेका भारतको सीतामढी जिल्लासँगै जोडिएको जिल्लाको मनराशिशवा नगरपालिकाका उपप्रमुख रमिला प्रधानले बताउनुभयो । वनमा आखेट बढेसँगै दक्षिण झरेका वन्यजन्तुले बालीनाली नोक्सान गरेका र कतिपय बेला आक्रमण नै गर्ने गरेका गुनासो बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !