२४ बैशाख २०८१, सोमबार

दैलेखको टुइकुनामा माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १० घाइते


दुर्घटना

दुल्लू । दैलेख जिल्लाको कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ भने तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका-१ टुइकुनामा कालिकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीर अवस्थाका सात जनालाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । उनले भने, “म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !