२४ बैशाख २०८१, सोमबार

दाङको मुसोटमा जीप दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते


दुर्घटना

दाङ, साउन १ । दाङ जिल्लाको घोराही सडक खण्डमा पर्ने मुसोटमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका-३ मुसोटमा दुर्घटनामा भएको हो ।

दुर्घटनाका घाइतेमध्ये तुसीपुर उपमहानगरपालिका-१५ निवासी १६ वर्षीय पदम वलीको उपचारका क्रममा मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा बिहीवार बिहान वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनामा परेर तुलसीपुर-१५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ ।

चालकको अवस्था भने सामान्य रहेको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भइ भित्तामा ठोक्किएको थियो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !