६ बैशाख २०८१, बिहिबार

भारतबाट आएका नेपालीको कोरोना परीक्षण नहुँदा जोखिम बढ्यो


भारतमा रोकिएका मजदुर घर फर्किन पाउँदा खुशी

भीमदत्तनगर, ९ जेठ । कञ्चनपुरको नाका हुँदै भारतबाट भित्रिएका नेपालीको कोरोना सङ्क्रमण परीक्षण नगरी बिहीबार सम्बन्धित पालिका पठाइएको छ । परीक्षण विनानै उनीहरूलाई नेपाल प्रवेश गराउँदा कोरोना सङ्क्रमणको जोखिम बढेको छ ।

दुई दिनसम्म भारतबाट यहाँको नाका हुँदै भित्रिएका नागरिकलाई भीमदत्तनगरस्थित बैजनाथ इन्जिनीयरिङ कलेजको क्वारेन्टिनमा राखेर कोरोना सङ्क्रमण परीक्षणपछि मात्रै सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको थियो ।

सीमामा अलपत्र यात्रुको चाप बढेसँगै यहाँको क्वारेन्टिनमा जम्मा गरेर स्वास्थ्य परीक्षण नै नगरी ४२९ जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । सम्बन्धित पालिकासितको समन्वय हुन नसक्दा १७ जना भने क्वारेन्टिनमै छन् । प्रहरीले बुधबार पनि ४०० भन्दा बढी नागरिकलाई यहाँबाट पठाएको थियो । वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले भारतबाट आएका गोरखा, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप र दैलेखलगायत जिल्लाका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने गरी पठाइएको जानकारी दिनुभयो ।

कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले जनशक्ति अभाव र आरडिटी परीक्षणका लागि किटको समेत अभाव रहेको बताउनुभयो । “पालिका र जिल्लामा गरी आरडिटी गर्न हामीसित ४०० थानमात्रै किट मौज्दात छ”, उहाँले भन्नुभयो, “हामीसित जनशक्ति छैन, सीमाबाट सुरक्षा निकायले ल्याउँछन्, परीक्षण गर्न आग्रह गरेर मात्रै गर्ने गरिएको छ ।” उहाँले भारतबाट आउने नेपालीलाई बिहीबारसम्म आरडिटी जाँचपछि मात्रै सम्बन्धित पालिकामा पठाउने काम भएको बताउनुभयो । “हिजोमात्रै हामीले १३९ जनाको आरडिटी जाँच गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कञ्चनपुरमा दुई हजार ६९७ जनाको आरडिटी परीक्षण गरिएको छ ।”

कोरोना परीक्षण नगरी भारतबाट आएका नागरिकलाई पठाउँदा कोरोनाको सङ्क्रमण जोखिम बढेको छ । सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी र दोधारा चाँदनीदेखि ब्रह्मदेव क्षेत्रबाट अवैधरुपमा भित्रिने क्रम बढेको हो । दशगजामा अलपत्र अवस्थामा रहेका नेपालीलाई दोधारा चाँदनीको महाकाली नगरपालिकाले खानपिनको व्यवस्थासमेत गर्दै आएको छ । केही समययता सुदूरपश्चिम नाकाबाट भारतबाट घर फर्किनेको क्रम ह्वात्तै बढेको छ । यसअघि गत चैतमा सुदूरपश्चिममा भारतबाट मात्रै एक लाख ४३ हजार नागरिक घर फर्किएका थिए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पालिकाले आफँै आरडिटीलगायतका स्वास्थ्य परीक्षण आफैँ गर्छौं भनेपछि यहाँ आउनासाथ सम्बन्धित ठाउँ पठाउन थालिएको बताउनुभयो । “भारतबाट आएकालाई पठाउन सुरक्षा निकायले आवश्यक समन्वय र फिल्डमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “सिमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ ।”

कञ्चनपुरमा हालसम्म ४६७ जनाको पिसिआर परीक्षण लिइएकामा बेदकोट नगरपालिकाका एक युवकमा कोरोना सङ्क्रमण भेटिएको थियो । सङ्क्रमित युवक उपचारपछि निको भएर घर फर्किसकेका छन् । बिहीबारसम्म यहाँका ३२ स्थानमा रहेको क्वारेन्टिनमा ५०३ जना बसिरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । भारतबाट नेपाली फर्कने क्रम बढेपछि स्थानीय तहले क्वारेन्टिनको सङ्ख्या पनि बढाउँदै लगेका छन् ।

भारतीय भुपू सैनिकलाई पेन्सन बुझ्न सास्ती
भारतका विभिन्न सुरक्षा फौजबाट अवकाश प्राप्त भूपूहरुले नेपाल–भारत सीमानाका बन्द हुँदा आफूहरुले पेन्सन बुझ्न समस्या भइरहेको दुखेसो पोख्नुभएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सीमावर्ती भारतीय बजारमा गएर पेन्सन रकम लिन नपाउँदा घर खर्च चलाउन गाह्रो भइरहेको उनीहरुको भनाइ छ । बैतडीको दशरथ चन्द नगरपालिका–६ सिमायलका भीमबहादुर चन्दले दुई महिनादेखि नाका बन्द हुँदा सिमावर्ती भारतीय बजार झुलाघाट जान नसकेको बताउनुभयो ।

“पेन्सनबाटै घरको नुन, तेल खर्च चल्थ्यो”, भारतीय सेनाबाट अवकाश प्राप्त चन्दले भन्नुभयो, “अधिकांश भूपूहरु पेन्सन भारतमै बुझ्ने गर्छन् ।” पेन्सन बुझ्न जाने भूपूको सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयसित गुहार माग्दा कुनै सुनुवाइ नभएको चन्दको गुनसो छ । “प्रशासनले माथि लेखेर पठाएको छौँ, निर्देशन आएपछि मात्रै पहल गर्छौं भन्छ ।” उहाँले भन्नुभयो, “नेपालबाटै पेन्सन बुझ्ने व्यवस्था भइदिए पनि हुन्थ्यो ।”

बैतडीमा भारतीय फौजबाट अवकाश प्राप्तहरुको हकहित र तिनका आश्रित परिवारलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउन स्थापना भएको जिल्ला भूपू सैनिक बोर्डले पनि भूपू सैनिक पेन्सन बुझ्न जान नसक्ने अवस्था रहेको जनाएको छ । “सीमा सिल छ, माथिबाट पहल नभएसम्म खुल्ने सम्भावना छैन”, भूपू सैनिक बोर्ड बैतडीका प्रमुख टीकाबहादुर पुनले भन्नुभयो, “हाल बैतडीमा २०० भन्दा बढी भूपूहरु छन् ।”

त्यसैरी बोर्डले कञ्चनपुरमा समेत भारतीय सुरक्षा निकायबाट अवकाश प्राप्तको तथ्याङ्क सङ्कलन गरिरहेको छ । यहाँको बैतडी, दार्चुला, कैलाली र डडेल्धुरालगायतका जिल्लामा भारतीय सुरक्षा निकायबाट अवकाश पाउनेको सङ्ख्या ठूलो छ । “केहीले यताकै एसबिआई र एभरेष्ट बैंकबाट पनि पेन्सन बुझ्ने गरेका छन्”, भूपू सैनिक बोर्ड भीमदत्तनगरका प्रमुख दयाकृष्ण भट्टले भन्नुभयो, “धेरैले सीमावर्ती बजारमै पुगेर पेन्सन बुझ्ने गरेको भए पनि लकडाउनले त्यो सम्भव हुन सकेको छैन ।”

अङ्ग्रेजी महिनाको शुरुवातमा सीमावर्ती बजार खटिमा, वनबसा र टनकपुरका विभिन्न बैंकमा पेन्सन बुझ्ने नेपालीको भीड नै लाग्छ । बैंकसँगै किनमेलका लागि आर्मी क्यान्टिनमा समेत घुइँचो लाग्छ । भारतीय सेनाको हवल्दारबाट अवकाश प्राप्त कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका गजेन्द्रबहादुर चन्दले दुई महिनादेखि पेन्सन लिन भारतीय बजार टनकपुर जान नपाएको बताउनुभयो ।

“मार्चमा गए त्यसपछि जान पाइएन”, उहाँले भन्नुभयो, “पेन्सनकै भरमा परिवारको खर्च चलाउनेलाई निकै समस्या भएको छ ।” उहाँले कञ्चनपुरमा मात्रै भारतीय सुरक्षा निकायबाट अवकाश पाएका एक हजार २०० भन्दा बढी भूपू रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !