१४ आश्विन २०८१, सोमबार

कोरोना संक्रमित जलाएपछि बन्द भयो विद्युतीय शवदाह गृह


विद्युतीय शवदाह गृह

जेठ ५, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मृत्यु भएका सिन्धुपाल्चोककी प्रसूति महिलाको शव शनिबार साँझ विद्युतीय शवदाह यन्त्रबाट शवदाह गरिएको छ ।

शवदाह गृहलाई पुनः सञ्चालन गर्न योग्य हुनेगरी निर्मलीकरण नहुन्जेलसम्म यन्त्रबाट हुने शवदाह सेवा बन्द गरिएको शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शवदाहमा संलग्न कर्मचारी तथा मजदुरले यहाँ काम गर्न मानिरहेका छैनन् । शवदाह गृहका लागि शवदाह गर्ने विशेष टोली नै खटाउनुपर्ने विषयमा कोषमा छलफल गरिएको छ ।

कोषाध्यक्ष थापाका अनुसार कोरोना भाइरसलाई लक्षित गरेर अर्थ मन्त्रालयले दुुई शवदाह यन्त्र थपका लागि १५ करोड २० लाख रुपियाँ बजेट निकासा गरेको छ । भाइरस सङ्क्रमणयुक्त शवदाह गर्दा अपनाउनुपर्ने पूर्वतयारी र यसका लागि आवश्यक रसायन उपकरण तथा शवदाहपछि शवदाह गृहलाई निर्मलीकरण गरिने प्रक्रिया कोषले थालेको छ । ‘‘निर्मलीकरण सकिएपछि मात्र यन्त्र चालु हुन्छ,’’ डा. थापा भन्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !