११ बैशाख २०८१, मंगलबार

‘लकडाउन’ उल्लङ्घन गर्ने ५६ सवारी साधनलाई प्रहरीले लियो नियन्त्रणमा


ट्राफिक प्रहरी

बनेपा, १२ चैत । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले देशभर लकडाउन गरेका बेला त्यसको अवज्ञा गर्दै सञ्चालन गरेका ५६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा लकडाउनका बेलामा चलाइएको एक बस, एक मिनीट्रक र ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

अत्यावश्यक अवस्थामा सञ्चालन हुने सवारी साधन जरुरी काम परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर चलाउने र सेवाकै सिलसिलामा चल्ने सरकारी गाडीबाहेक अरुलाई चल्न नदिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा त्यसरी उल्लङ्घन गरी हिँड्ने र सवारी चलाउने गरेको पाइएका कारण अनुगमनसमेत गरिरहेको बताउनुभयो ।

सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन मङ्गलबार राति करीब ८ः३० बजेको समयमा मण्डनदेउपुर नगरपालिका–९ रानिटारस्थित हेलम्बु राजमार्ग सडकखण्डमा हिगुवापाटीबाट पाँचखालतर्फ जाँदै गरेको बा२२प ९४३० नंको मोटरसाइकलले दुई जना पैदल यात्रीलाई ठक्कर दिएर घाइते बनाएको छ ।

मोटरसाइकलको ठक्करबाट रोल्पा रुम्तिगढी नगपालिका–१ बस्ने १९ वर्षीय रवि कुँवर र सोही ठाउँका १९ वर्षीय सरोज घर्तीमगर घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुँवरको दाहिने खुट्टामा चोट लागेको छ भने मगरको घुँडामा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले जिल्लाका विभिन्न स्थानमा लकडाउनको निरीक्षण गरिरहेको बताउनुभयो । “यस्तो अवस्थामा हामीले अनुरोध गर्ने हो, नागरिक आफैँ पनि सचेत हुन आवश्यक छ ।” उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेकका अन्य सवारी साधन चल्न दिएका छैनाँै, त्यसका लागि हामी आफँै जिल्लाका विभिन्न स्थानमा गएर निरीक्षण गरिरहेका छौँ ।” हिजोको भन्दा आज निकै सुनसान भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !