२० बैशाख २०८१, बिहिबार

डा. बाबुराम भट्टराईमा पुन: कोरोना संक्रमण पुष्टि


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डा. भट्टराई सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई पुन: कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले सतर्कताका बाबजुद आफूलाई कोभिड-१९ पुन: संक्रमण भएको बताएका छन् । उनले पिसिआर रिपोर्ट पोजेटिभ आएको बताऊँदै लक्षण सामान्य रहेको पनि बताएका छन् । उनले केही समययता आफ्नो निकट सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह समेत गरेका छन् । उनले केही दिन आफू होम आइसोलेसनमा रहने भएकोले असुविधाका निम्ति क्षमा प्रार्थी समेत गरेका छन् ।

यसअघि भट्टराई र उनकी पत्नी हिसिला यमीको गत २०७७ साल कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणको नतिजा कात्तिक ८ गते पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेका थिए ।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ ! ळक्षण सामान्य छ । केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाका निम्ति क्षमा प्रार्थी छु ।’

आजै मात्र नेकपा एमालेका पूर्वनेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनीहरुका छोरा हरिशले जानकारी दिएका हुन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई माघ ९ गते आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनीहरु बालकोटस्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेर आराम गरिरहेका छन् ।

यस्तै माघ ९ गते आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । सीतालाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ । यद्यपि उनमा निमोनिया समेत देखिएतापनि अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

साथै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ । केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमीमा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !