२५ बैशाख २०८१, मंगलबार

एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण


केपी ओली र राधिका शाक्य

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

ओलीको शुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । केही दिन अघिदेखि ओलीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो शनिबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

हाल उनीहरु बालकोटस्थित आफ्नै निवासमा होम आइसोलेसनमा बसेर आराम गरिरहेका छन् । पछिल्लो समय ओली सार्वजनिक कार्यक्रममा भने देखिएका थिएनन् ।

अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । ओलीले आज समसामयिक विषयमा पत्रकार सम्मेलन समेत गर्ने भएका थिए । प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचन लगायतका विषयमा आज पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने कार्यक्रम रहेको थियो  ।

यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको छ ।केही समयअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !