२१ बैशाख २०८१, शुक्रबार

खानेपानी मन्त्री मणि थापामा देखियो कोरोना संक्रमण


मणि थापा कोरोना परिक्षण

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको छ । उनलाई अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या नदेखिएको मन्त्री थापाको सचिवलायले जानकारी दिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

४ दिन अघि मात्र मन्त्री थापाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यस्तै ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्य सहित सचिवालयका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन् ।

यसअघि मन्त्री थापालाई कोरोनाको आशंका गरिएपछि काेभिड-१९ परीक्षणका लागि उनले स्वाब दिएतापनि उनमा कोरोना पुष्टि भएको थिएन । सोही कारणबश उनी मेलम्ची खानेपानीको आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा अनुपस्थित भएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी थिइन् ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत धेरैजसो मन्त्रीहरु पनि सहभागी भएका थिए । तर यस्तो ठुलो राष्ट्रिय गौरवको आयोजनाको औपचारिक उद्घाटन समारोहमा सम्वन्धित खानेपानीमन्त्री मणी थापा भने उपस्थित भएनन् ।

बिरामी भएर सो ऐतिहासिक अवसर खानेपानीमन्त्री थापाले गुमाएका थिए । राष्ट्रपति भण्डारीले औपचारिक वितरणको सुरुवात गरेतापनि बिडम्बनाको कुरा अहोरात्र खटेर काठमाडौंमा खानेपानी वितरणका लागि औपचारिक उद्घाटन समारोहमा भने मन्त्री थापा उपस्थित हुन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !