२३ बैशाख २०८१, आइतबार

बाँकेमा कोरोनावाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १०० नाघ्यो


मृत्यु

राँझा । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी ६ सङ्क्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उहाँका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको गए राति ९ः०० बजे मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव ९ः०० बजे नै मृत्यु भएको थियोे ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको राति १०ः०० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको छ ।

पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !