१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं


डोरमणि पौडेल

काठमाडौँ, कार्तिक ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि हेलिकप्टरवाट काठमाडौं ल्याइएको छ । उनलाई आज शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा पत्नीसहित काठमाडौं ल्याइएको र गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुने बताइएको छ ।

हिजो बिहीबार मुख्यमन्त्री सहित उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र १ जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै बसेका थिए । मुख्यमन्त्री पौडेलको सचिवालयका अनुसार उनको अवस्था सामान्य भएतापनि केही समय अगाडि मुटुको अप्रेशन गरिएको कारणले समयमै सावधानी अपनाइएको हो ।

सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो । काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकी सहित कोरोनाको सामान्य लक्षण देखिएपछि बुधबार हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !