२६ बैशाख २०८१, बुधबार

कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्छ


नवीन्द्रराज जोशी

काठमाडौँ, ३ भदौ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ । प्रतिष्ठानले मङ्गलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिक आश्वस्त हुनेगरी सरकारले काम गर्न नसकेको बताएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले कोरोना उपचारका लागि सरकारलाई जिम्मेवाररूपमा नागरिकसामु प्रस्तुत हुन आग्रह गर्नुभयो । “सरकारले क्वारेन्टिनको उचित व्यवस्था र पिसीआर परीक्षण प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो । स्वास्थ्यको विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अग्रभागमा खटिएर काम गर्ने व्यक्तिको पिसीआर परीक्षणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष जोशीले बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै पिसीआर परीक्षणको दायरालाई बढाउँदै जनतालाई निःशुल्क सेवा दिँदै लैजानुपर्ने बताउनुभयो । सरकारले निजी अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकले तीव्रगतिमा कोरोना नियन्त्रणका लागि भ्याक्सिन निर्माण गरिरहेको बताउँदै उहाँले भ्याक्सिनले मान्यता पाउनेबित्तिकै विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरेर नेपाल ल्याउने वातावरणमा सरकार जुट्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले कोरोना सङ्क्रमण भएका बिरामी र नभएका बिरामीको उपचारका लागि छुट्टाछुट्टै अस्पताल बनाउनुपर्ने बताउनुभयो । कोरोना भएका र नभएका बिरामीलाई एउटै अस्पतालमा उपचारको व्यवस्था मिलाए कोरोना झन् फैलन सक्ने उहाँको भनाइ थियो । “कोरोनाको उपचारका लागि सरकारले दुई/चारवटा अस्पताललाई पूर्णरूपमा खाली गरेर उपचार गर्नुपर्छ”, उहाँले भन्नुभयो । दक्ष जनशक्तिलाई तालिम दिएर कोरोनाको उपचारमा खटाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिष्ठानले यसअघि कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे छलफल गरी प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो । यस्तै प्रतिष्ठानले शिक्षा र स्वास्थ्यका बारेमा समेत निरन्तर छलफल चलाइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !