२६ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित


डा. विकास देवकोटा

८ जेठ, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार झापा र रुपन्देही जिल्लामा थप ९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । जस अनुसार झापामा ८ जना पुरुष र रुपन्देही जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् । साथै रुपन्देहीका २७ वर्षीय १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित रुपन्देहीका श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४४४ थियो भने आज फेरि ९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३८३ जना पुरुषहरु र ७० जना महिलाहरु रहेका छन् । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४९ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ १७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !